Wednesday, December 25, 2013

मुक्तक

आफ्नै बिचार लाग्छ उत्तम म के गरौ
आफू जहिल्यै लाग्छ प्रथम म के गरौ
केहि गरेरै छुन्न उसको कुरा हेर
राम्रै बोलोस लाग्छ खत्तम म के गरौ ?




  









Tuesday, July 23, 2013

मोवाइल मोह

उसको घरमा जान मलाई कुनै कारण चाहिदैनथियो । एक बिहान चिया पिउदै उसैको घरमा गफगाफ चल्दैथियो ।त्यतिकैमा उसको स्कूल पढ्ने छोरा आयो र भन्न थाल्यो- 'बाबा! हजुरको मोबाईल एकछिन दिनुन् । म र मेरो साथी फोटो खिच्छौ ।' सुरुमा उसले दिन मानेको थिएन तर उसको छोराले धेरै नै कर गरेपछि म तिर हेरेर मुसुक्क हाँस्दै छोरालाई मोबाईल दिदै भन्यो- 'भुँइमा झार्लास नि । यो धेरै महङ्गो छ ।'
उसको छोरो खुशी हुँदै भर्‍याङ्गबाट छिटो-छिटो तल ओर्लिन थाल्यो । दुर्भाग्यवश! उ भर्‍याङ्गबाट चिप्लियो र आँगनमा जोडले बजारिन पुग्यो । मोबाईल उछिट्टिएर आँगनको अर्को कुनामा पुग्यो । थुक्क मोराले त्यस्तो राम्रो मोबाईल फुटाइहाल्यो नि भन्दै उ हत्तपत्त तल झर्‍यो, अनि मोबाईल उठाएर हेर्न थाल्यो । म पनि ओर्लेर छोरालाई उठाउन खोज्दैथे, उसकी श्रीमती पनि आत्तिदै छोरो समाउन आइपुगिन । छोरो रोइरहेको थियो। उसकी श्रीमती पनि ला,,,,छोराको हात भाँचिएछ,टाउको पनि फुटेछ,,,, भन्दै रुन थालिन । अस्पताल लान मैले छिमेकीलाई गाडी लिएर आउन भने र उ तिर पुलुक्क हेरे । उ अहिलेसम्म मोबाईल सफा गर्दैथियो । वाह् ! क्या मोबाईल मोह  ।

Wednesday, August 1, 2012

नैतिक शिक्षा


कुरो पाँच कक्षा पढ्दाको हो ।अझै धमिलो सम्झना बाँकी नै छ ।मेरो नैतिक शिक्षा पढाउने सरले सधैं पाठ पढाई सकेपछि अभ्यासमा रहेका प्रश्नोत्तर तिमीहरु आँफै गर्नु ।म पछि हेर्छु भन्नुहुन्थ्यो ।प्रश्नोत्तर गरे पनि नगरे पनि खासै फरक नपर्ने लागेपछि मैले त गर्दै गरेको थिइन ।
तर, सरले आठवटा पाठ पढाई सकेपछि भन्नु भयो,'भोली म तिमीहरुले लेखेको आठैवटा पाठको प्रश्नोत्तर चेक गर्छु ।भोली सबैले आ-आफ्नो कापी लिएर आउनु..... ।'भोलीपल्ट सरको कुटाइ खाने निश्चित प्राय: भए पछि मन साह्रै अशान्त भयो ।स्कूल छुट्टी भएर घर पुग्ने बितिक्कै प्रश्नोत्तर लेख्न सुरु गरे ।सधैं किताब फ्यालेर खेल्न कुद्ने अनि खाना पाक्यो? भन्दै पटक पटक भन्सामा पुग्ने केटो आज किन यसरी शान्त भएर लेख्दै छ भनेर आमा पनि तिनछक पर्नु भएको थियो ।राती अबेर सम्म र बिहान सबेरै देखि औलामा ठेला उठुन्जेल लेख्दा सातवटा पाठ सिध्याएँछु ।  
स्कूलमा पुगेपछि एकजना सरको अनुपस्थितिको फाईदा उठाएर केही लेखे अनि बाँकी एक घण्टा हुने ब्रेकमा खाजा खान र खेल्न नगइ सबै सिध्याए ।बल्ल मन शान्त भयो ।अब कतिबेला सर आउनुहोला र देखाउला भनेर पर्खेर बस्न थाले ।सर आउना साथ सर मैले हजुरले भनेको सबै गृहकार्य गरेर ल्या'को छु भनेर सरतिर कापी तेर्‍स्याएँ ।सधैं  झुटो बोल्नु हुँदैन,आज गर्ने काम भोलीलाई साँच्नु हुँदैन भनेर पढाउने सरले गाह्रो मान्दै भन्नु भयो,'आज साह्रै अल्छी लागेको छ केटा राख म भोली हेर्छु ।'सर कुर्सीमा बसेर उङ्न थाल्नु भयो ।'निरिह म मुसुक्क मुस्कुराएँ र 'झुटो बोल्यो कि पोल्यो'भन्ने पाठ पढ्न थाले ।            
              

Monday, July 30, 2012

लघु कथा

रात छिप्पिसकेको थियो ।आजै घरबाट डेरामा आइपुग्नु पर्ने साथी किन आएन होला? सोच्दै सुत्ने तरखर गर्दै थिए। कसैले एक्कासी ढोका ढकढकायो ।त्राश र आश्चर्य दुबै मान्दै ढोका खोले ।एउटा अपरिचित, दुब्लो, पातलो केटो ढोकामा देखियो जो साह्रै आत्तिएको थियो ।उसले स्याँ-स्याँ र फ्याँ-फ्याँ हुँदै अनुनय गर्न थाल्यो- बचाउनुस् दाई, मलाई बचाउनुस् ।मलाई गुण्डाहरुले लखेटिरहेछन् ।तिनिहरुले भेटे भने मलाई मार्ने छन् ।म निर्दोष छु । उसको कुरा मलाई पूर्ण रुपमा विश्वाश नभएपनि तत्कालको लागि आश्रय दिने निर्णय गरे ।
केहिछिनको सन्नाटा पछि आफुलाई बचाएकोमा उसले मलाई धन्यवाद दिदै आफु निर्दोष भएको थुप्रै प्रमाण पेश गर्‍यो ।म नि उ प्रति विश्वस्त हुँदै गए र उसलाई पर्न सक्ने सम्भावित खतराको महसुस गरि आज यहि बसेर बिहान मात्र जान अनुरोध गरे ।उसले अफ्ठ्यारो मान्दै स्विकार्‍यो ।उसकै बारेमा सोच्दा सोच्दै ढिलो मात्र निदाएछु ।बिहान छ बजे मात्र आँखा खुलेछ ।ब्युझिने बित्तिकै उसलाई हेरे ।उ सुतेको बेड खाली थियो ।बाहिर निस्केर समेत यताउती खोजे ।उ कतै भेटिएन । छक्क परे कस्तो मान्छे होला,जान्छु पनि नभनि जाने... ।
त्यसपछि,चारैतिर कोठामा आँखा डुलाए ।ओहो! मेरो कपडाहरु र केहि पैसा समेत भएको सुट्केस त्यहाँ थिएन ।बाहिर निस्केर पनि सबैतिर हेरे । उफ! दुई दिन अघि मात्र किनेको जुत्ता पनि राखेको ठाउँमा थिएन ।

Friday, July 20, 2012

मुक्तक

अतितमा डुब्दै साह्रै कच्चा भँएछु
धुलो खेल्दै हिंड्ने म त बच्चा भँएछु
समयको बेग रोकि दे'छ मनले
पर वाग घुस्ने कस्तो लुच्चा भँएछु ।

                          

अतितमा डुब्दै साह्रै कच्चा भँएछु
धुलो खेल्दै हिंड्ने म त बच्चा भँएछु
समयको बेग रोकि दे'छ मनले
पर वाग घुस्ने कस्तो लुच्चा भँएछु ।

Friday, October 21, 2011

मुक्तक

न्यानो माने कसैले, जल्नुमा पनि मजा छ
काम लागे कसैको, गल्नुमा पनि मजा छ
पीर छैन यात्रामा, दुखेर पाउ के भो त
थाम्ने हात भैदिए, ढल्नुमा पनि मजा छ !

Tuesday, July 26, 2011

एक मुक्तक !!!


उसिन्न बसालेको भए ढुङ्गा गल्ने बेला भो
पानीमा सल्काएको भए आगो बल्ने बेला भो
आशाको किरणले अन्धकार अझै चिरेन  
यस्तैमा युगहरु बिते अब आँफै ढल्ने बेला भो ।

Sunday, July 17, 2011

केही मुक्तकहरु

कहिले खहरे बनि भुक्छ जिन्दगी
कहिले गहिराइमा दुख्छ जिन्दगी
तातेर समय सबै बाफ हुनेछ
आखिर खडेरी परि सुक्छ जिन्दगी !!!



सानो छँदा धुलो खेलाउदै फुर्सद भएन
ठूलो हुँदा चुलो जलाउदै फुर्सद भएन
यसो उसो सबै बराबर छोड्नै मिलेन
जीवनको तुलो मिलाउदै फुर्सद भएन !!!



कोही माथि पुग्ने हैनन, खुट्टा तानातान छ
केको बस्न सक्थे मिलेर, कुर्सी हानाहान छ
कत्ति न गर्छौ भनेर, भ्रमको खेती फैलाए
भत्ता खाने थप्दै समय, सत्ता छानाछान छ !!



कहिले पुस्तक ठानेर घोक्छु जिन्दगी
कहिले औजार हानेर ठोक्छु जिन्दगी
जतिनै पिए'नि बुझ्दैन प्यास पटक्कै
आज त मदिरा मानेर धोक्छु जिन्दगी !!!

Sunday, May 8, 2011

नयाँ दलको घोषणा-पत्र

नेत्र दाहाल
नेपालमा हालसम्म चलनचल्तीमा रहेका राजनीतिक दल र तिनको नेताहरु गए गुज्रेका, स्वार्थलम्पट, कुर्सीका भोगी, भ्रष्टाचारी, दुराचारी, प्रभुभक्त, यथास्थितिवादी, प्रतिक्रियावादी आदि जस्ता अनेकौ उपनामवाट चिनिन थाले भन्ने ब्यापक जनगुनासो आइरहेको परिपे्रक्षमा एउटा साँच्चि कै राजनैतिक दुरदर्शिता भएको, जनतालाई सुख–दुःखमा साथ दिने, अधिकांश भोका नाङ्गा शरीरलाई खान दिई लाज छोपिदिन पर्ने आवश्कता महशुस गरी सहमती, शान्ति र संविधान मुखले मात्र हैन काम गरेर ब्यवहारमा पनि देखाउन वाञ्छनिय देखी हामी हाल सम्म कुनै पनि पार्टीमा अटाउन नसकेका केही नव उत्साहित बच्चा, युवा अनि बृद्धाको एक भेलाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेको कुरा सार्वजनिक गर्न पाउँदा असाध्यै खुशी लागेको छ ।

विषय वा प्रशंगले अर्को अर्थ नलागे हाम्रो पार्टीको नार्म अन्तर्राष्ट्रिय समावेशी पार्टी ’ हो । किन राष्ट्रिय नभएर दलको नाममा अन्तर्राष्ट्रिय आयो भन्ने खुल्दुली मनमा उब्जियो भने त्यसको स्पष्टीकरण दिइनेछ । अब, यसै पनि नेपालको राजनीति बिदेशीको इशारा र कृपामा चलेको हुन्छ भन्ने अधिकांशको विश्वाश छ । उनीहरुलाई पनि दलमा कहिँ कतै स्थान दिन सकियो भने त यसो अलिकति राजनैतिक उतार चढाव आउने वित्तिकै विदेश तिर कुदिहाल्नु पर्ने समस्या पनि निराकरण हुने देखिन्छ । किनकी, आफ्नै दल हो भनेर उनीहरु आफै नेपाल आउनेछन् । हाम्रो दलमा के हिमाली, को पहाडी, किन मधेशी सवैलाई वरावरीको स्थान दिइनेछ । यति मात्र हैन जुनसुकै जातजति, लिङ्ग, वर्ग, धर्म संस्कृति मान्ने भएपनि समान ब्यवहार गरिनेछ ।

नेता, कार्यकर्ताको अलावा हालको परिस्थितिलाई मध्यनजर राख्दै हाम्रो दलको नजरमा जनता भन्नाले नेपाली नागरिकता लिई सकेका वा विभिन्न कारणले नागरिकता लिन योग्यता पुगेपनि हालसम्म वञ्चित नेपालवासी नरनारीहरु, उमेरको हदबन्दीले हालसम्म नागरिकता नपाएका तर भविष्यमा वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने बलियो संभावना बोकेका ब्यक्तिहरु, देशको रोजीरोटीले मुखमा माड नलागेर संसारको जुनसुकै कुनामा ब्यापार ब्यवसाय गरेर बसेका बिशिष्ट देखि निम्न दर्जाको रोजगारी गरेर तलब भन्दा बढी तनाव ब्यहोरिरहेका नेपाली राहदानीधारी ब्यक्तिहरु र दोहोरो नागरिकता पाउने छाँटकाँट देखिएमा त्यस्तो नागरिकता पाउने पर्याप्त आधार भएका नेपाली मुलका विदेशी नागरिकलाई बुझिन्छ । यसको अलवा माथि जेसुकै लेखिएको भएपनि विदेशी नागरिक तर नेपाललाई हर तरहले माया गर्ने र आवश्यक परेको बेला सल्लाह सुझाव दिन सक्ने ख्याति प्राप्त ब्यक्तिहरु जो सम्मानार्थ नेपाली नागरिकता पाउने योग्यता राख्छन्, उनीहरु मध्येवाट कम्तिमा पाँच जना सम्म दलको सल्लाहकार नियुक्त गर्ने बाधा पु–याएको मानिने छैन ।

हाम्रो पार्टी बहुपदिय संरचनामा चल्नेछ । यो दलको मुख्य बिशेषता भनेको कुर्सीको पर्याप्तता पनि हो । हाम्रो दलमा कुर्सी कै कारणले कुनै पनि समस्या नआउने प्रतिबद्धता जाहेर गर्दछौँ । त्यसका लागि हाम्रो दलमा कम्तीमा पाँच जना अध्यक्ष र दश जना सम्म उपाध्यक्षको ब्यवस्था गरिने छ । सचिव, उपसचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष आदि प्रत्येक पदमा बढीमा बीस–बीस जना सम्म चयन गरिने छ । जसवाट अन्तरपार्टी कलह कम हुने हाम्रो ठम्याई छ । चिन्ता नलिनुहोस, आवश्यकतानुसार कुर्सी संख्या घटाउनु पर्ने समस्या त कहिल्यै नआउला तर बढाउन बिधानको कुनै पनि धाराले कहिल्यै बाधा पु–याउने छैन । कुर्सी संख्याका कारण कुनैपनि समस्या नआवोस् भनि पार्टी कार्यालयमा सिकर्मीको एउटा दल चौबिसै घण्टा तैनाथ गरिनेछ जसले घटनास्थल मै समस्याको निराकरण गर्न मद्धत मिल्नेछ । तर, हाम्रो दलमा नेतालाई उमेरको हदबन्दी भने लाग्नेछ । एउटा निश्चित उमेर पार गरिसकेपछि नेताको बोलीको ठेगान हुँदैन भन्ने ब्यापक जनगुनासोलाई सम्बोधन गर्न यसो गरिएको सहर्ष जानकारी गराउँदछौ । जसअनुसार पैसठ्ठी बर्ष उमेर पुगिसकेको वयोवृद्ध युवा नेता स्वतः अवकाश भएको मानिनेछ । पछिल्लो पुस्ताले पनि बेलैमा मौका पाउनु पर्छ भन्ने हाम्रो मान्यता छ ।

यदि आफू चोट खाएरै भएपनि हाम्रो पार्टीलाई भोट दिएर जिताउनु भएको खण्डमा अब आउने नयाँ संविधानमा हामी केही खास ब्यवस्था गर्ने छौँ । सामान्य नागरिकको हकमा उनीहरुलाई पद भन्दा दाल, भात र डुकुकै ठूलो चिन्ता छ । त्यसैले, भोकमरी र अनिकाल ग्रस्त क्षेत्रको पहिचान गरेर दसहजार मानिस वरावर एक पर्न आउने संख्यामा स्टार स्तरको होटल खोली निशुल्क भोजनको ब्यवस्था गराईने छ । पोसाकको हकमा निजले चाहेको परम्परागत भेषभुषा प्रत्येक छ/छ महिनामा सित्तैमा दिलाइने छ । कृषकहरुले उत्पादन गरेको खाद्यान्न सरकार आफँैले उचित मुल्यमा किनेर अनिकाल ग्रस्त क्षेत्रमा पढाउने छ । स्वायत्त सरकारको सम्बन्धमा चाहीँ यदि कुनै दस घरपरिवारले आफ्नो जाति, धर्म, साँस्कृतिक महत्व वा अन्य कुनै पहिचान खुल्नेगरी राज्य माग गरेमा हाल कायम रहेको नेपालको क्षेत्रफल र उनीहरुको जनसख्यालाई हिसाव गरी उनीहरुको भागमा पर्न आउने भूमी स्वायत्तताको हक सहित राज्य प्रदान गर्ने योजना बनाईने छ । यो योजनावाट कुनै पनि जनजाति, आदीवासी वा वर्गले छुट्टै राज्य नपाएको झोकमा आन्दोलन गर्नु पर्ने समस्याको निराकरण हुनेछ । यति मात्र हैन, हाम्रो पार्टीले वेरोजगारीलाई रोजगार, रहर गर्नेलाई घरवार, कर्मचारीलाई उच्च तलवमान, विदेश जान चाहनेलाई सित्तैमा उडान, स्वदेशमै उद्यम गर्न चाहनेलाई रुपैयाँ र्निब्याजी, दोहोरो नागरिकता लिन चाहनेलाई स्यावासी, कलाकारलाई कार, पत्रकारलाई पुरस्कार र विद्यार्थीलाई छात्रवृतिको ब्यवस्था पनि गर्ने छ ।

आर्थिक सवालमा हाम्रो दल उदार र पारदर्शी रहने छ । दुःख मान्नु पर्देन रु एक तिरेर हाम्रो दलको सदस्यता लिन सकिनेछ । सक्रिय सदस्यको हकमा भने रु दस ब्यवस्था गरिएको छ । पार्टी चलाउन तपाईहरुको दया, मायाले दिएको दान वाहेक जवरजस्ती चन्दा असुली गरिने छैन । आर्थिक हिनामिना गर्ने भ्रष्टचारी, घुसखोरी नेता तथा कार्यकर्ता जो सुकै भएपनि अविर जतासुकै नपाइन सक्छ, त्यसैले कालो मोसो दलेर रथमा राखी बजार परिक्रमा गराएर सम्मान गरिनेछ । यदि साँच्चै नै तपाईहरुले साथ दिनु भयो भने यिनीहरुलाई हदैसम्मको सम्मान गर्ने गरी कानून बनाइने छ । ब्यापारी वर्गको कर र चन्दादान बिना दल चल्न र चुनाव लड्न गाह्रो हुने यथार्थलाई मध्यनजर गर्दै व्यापारी वर्गलाई पनि दस प्रतिशत सिट चुनाव लड्न सुरक्षित राखिनेछ । हाम्रो पार्टीको सभा सम्मेलन वा वार्ता गर्दा झुप्रे चिया पसलमा आयोजना गर्नेछ र पार्टी कार्यालय पनि परालको छानो र ढुङ्गा, माटोको भित्ता भएको वनाइने छ । किनकी, नेपालको जनसंख्याको ठूलो हिस्सा यस्तै घरमा बस्छन् ।

हाम्रो दलको सरकार भएको बेला कृपया दुःख नमान्नुहोला, हामी जे भन्छौँ त्यो नगर्न पनि सक्छाँै र जे गर्छोँ त्यो पहिले कहिल्यै बोल्दैनाँै । किनभने, जतिसुकै राम्रो योजना ल्याएपनि विपक्षीको गठवन्धनले त्यसलाई पुरा गर्न दिदै दिदैनन् । विपक्षीहरुलाई के डर छ भने यो पार्टीले राम्रो काम गरेमा आगामी चुनावमा हाम्रो हार हुनेछ । त्यसपछि हाम्रो पार्टीको अस्तित्व संकटमा पर्नेछ । हाम्रो दल यो विषयमा सचेत छ । हाम्रो दलले बुझेको छ, सवै राजनीतिक दलको उद्धेश्य शान्त र विकसित नेपाल अनि सु–शिक्षित र समृद्ध नेपाली नै हो र हुनु पनि पर्दछ, भलै सिद्धान्त र लक्ष्य प्राप्त गर्ने तरिका फरक–फरक किन नहोस् । त्यसैल,े हाम्रो दलले विपक्षीका असल कामहरुको प्रशंसा र गलत कार्यहरुको मात्र विरोध गर्ने नीति अख्तियार गर्ने छ । सरकारमा जान जस्ता सुकै पार्टीसँग जुनसुकै मुल्यमा सम्झौता गर्न तयार अनि देश र जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा मेरो गोरुको बाह्रै टक्का भन्ने दलहरु हाम्रो दलको मित्र शक्ति होइनन् । र, यस्ता दलहरु सँग हाम्रो पार्टीको कुनै सहकार्य नहुने ब्यहोरा पनि सूचीत गरिन्छ ।

सरकार कस्ले बनाउने र कुन ब्यक्तिले नेतृत्व गर्ने भन्ने सवालमा हाम्रो पार्टीले स्पष्ट धारणा बनाएको छ । कुनै एक दलले मात्र स्पष्ट बहुमत ल्याएको अवस्थामा त खासै विवाद देखिदैन । तर, कुनै पनि दलले स्पष्ट बहुमत नल्याएको खण्डमा उत्कृष्ट दस दलहरुलाई उनीहरुले प्राप्त गरेको मतको आधारमा, अर्को चुनाव नहुन्जेल सम्मको अवधिलाई हिसाव गरी वरिष्टताको क्रमानुसार बर्ष, महिना वा दिन जति पर्न आउछ, त्यति नै समय सरकारको नेतृत्व बिना सर्त उक्त दलले चाहेको ब्यक्तिले गर्न पाउनु पर्छ भन्ने हाम्रो दलको निश्कर्ष रहेको छ । यो नियम लागु गरेमा हाल देखा परेका आधा समस्या त छिन भरमै समाधान हुनेछ ।

हाम्रो दल समावेशी भएको कारणले राणावादीदेखि गणतन्त्रवादी सम्म जो आखिर देश र देशवासीकै भलो होस् भनी कुर्लिरहेका छन्, सवैलाई हाम्रो दलमा स्वागत छ । पूर्ण आन्तरिक लोकतन्त्र रहने हाम्रो पार्टीमा चित्त नबुझेको कुरा खुलस्त बोल्दा अनुशासनको कार्वाही गरिने छैन । वंश परम्परा कै आधारमा मात्र कुनै पनि ब्यक्तिलाई पद नदिने, धेरै जेल बसेको भन्दा जेल नै नपरेको ब्यक्तिलाई वढी महत्व दिईने, युवा दस्ता तयार पारी परस्पर भिडन्त नगराइने, विद्यार्थीहरुलाई शैक्षिक संस्थाका नियमित कार्य भाँडिने काममा नलगाउने जस्ता अनेक उत्कृष्ट कार्यहरु गर्ने छ । त्यसैले, सहभागि हुनुहोस् हामीसँग, हाम्रो दलसँग । इच्छुक ब्यक्तिहरुले तलको इलेक्ट्रोनिक बक्समा पत्र पठाउनुहोला । कृपया अध्यक्षको पद चाँही हामी आफै संस्थापकहरुले लिइसकेका छाँ । त्यसैले, सल्लाहकारदेखि सदस्य सम्मका पदहरुमा वोलपत्र आव्हान गरेका छाँ । आउनुहोस, अब त केहि गरौ । जय होस नेपाल र नेपालीको ।

Friday, May 6, 2011

दुई टुक्रा

जेलिए पनि जिन्दगी समस्याको जालोमा
हिम्मतको पोको बनाउ भरोसाको टालोमा
कल्पनाको सागर छोड यथार्थमा डुब
पूर्ण होलान इच्छा तिम्रा मनको डालोमा !!!
 
पैरो जान्छ मनमा सम्झनाको भेलले
यात्रा गाह्रो हुने भो नियतिको खेलले
छायाले
म त मरे तिम्रै मायाले !!!!
 

Saturday, April 30, 2011

मुक्तकहरु .......


कहिले बोलाउदै नबोलाई मस्किन्छे
कहिले मायाले बोलाए पनि ठुस्किन्छे 
उनको मनको कुरा कसरी बुझ्नु खै ? 
कहिले आँफै मधुर मुस्कान पस्किन्छे !!


जे थियो साथमा, सबै रित्तिएर खाली भए
परिस्थितीको दास हुँ, नबुझ्नेलाई जाली भए   

आफ्नै सफाइमा चिच्याउन, मनले मानेन    
खडेरिको मार खेप्ने,सुख्खा क्षेत्रको बाली भए !!





Thursday, April 21, 2011

दुई मुक्तक



  फाटेको जिन्दगी जसोतसो सिउदै छु साथी
  लिएर कृतिम अक्सिजन जिउदै छु साथी
  हत्केला देखाइ सूर्यलाई छेक्नेका के कुरा
  अमृत ठानेर बिषलाई पिउदै छु साथी !!

  सधैं ढलपल गर्ने, कर्कलाको पानी जिन्दगी 
  उत्खनन् गर्न गाह्रो , बिशाल खानी जिन्दगी 
  परिभाषाको पर्खाल लगाइ, जति छेकेपनि 
  समयको शहीद बनिदिने, कति ज्ञानी जिन्दगी !!

Wednesday, April 20, 2011

मानविय चरित्र र राम्रो म

मानिस आफ्नो उपस्थिति संसारलाई देखाउन जन्मने बित्तिकै चर्को स्वर वायुमण्डलमा प्रक्षेपित गर्छ । समय बित्तै जाँदा सकारात्मक होस वा नकारात्मक आफ्नो प्रभाव दुनियाँमा छोड्दै अगाडि बढछ । निश्क्रिय बस्न मनहरु मान्दैनन् । जीन्दगीका आरोह अनि अबरोहहरु सँगै भोलीको सुन्दर कल्पनमा रम्दै सपना साकार पार्ने धुनमा जीवन बितेको थाहै हुदैन् । मानिसहरु आफ्ना काममा यति लिन हुन्छन् कि आफ्नो उमेर अनि के गर्नु हुन्छ, के हुदैन भन्ने कुरालाई गौण सोची अनवरत अगाडि बढिनै रहन्छ । समयलाई कसैले छेक्न सक्दैन् । तसर्थ, समयको भेल सँगै समाहित हुनु हाम्रो नियति पनि हो ।
गुरुवाले उदेश्य के लिनु उढि छुनु चन्द्र एक भन्ने देवकोटाको कविताको सानो अंश सुनाएको दिनदेखि आफ्नो मन भारी भई मंगल ग्रह नै छुने ईच्छाले धेरै दिनसम्म निद्रा परेन, खान पनि पटक्कै मन लागेन । तर, कुवाको भ्यागुता जति नै उप्रेपनि कुवा वाहिर निस्कन सक्ने कुरै भएन । अन्त्यमा, २७०० वर्गमील उचाईमा उढेर खाडीको खाल्डोमा अवतरण गर्दा पनि अलिअलि खुशी त लागेकै थियो जमिन छोढ्न पाएकोमा । जे जस्तो भएपनि लगातार यात्रामा लागिरहन मानिसलाई प्रकृतिले नै सिकाएको होला । जति नै ठूलो रेक्टर स्केलको भूकम्प आएपनि पृथ्वी आफ्नो कक्षमा घुम्न छोडदिनन् । सुनामीले संसारलाई निल्दै गर्दा भारी मन लिएर भएपनि नदीहरु समुन्द्रमा मिसिन दौडिरहेकै हुन्छन् । त्यसैले होला काल भनेपछि लुरुक्क पर्ने मनिस उसैलाई भेटन आतुर लाग्छन् थाहै नपाए जस्तो गरी ।
आजको दुनियामा भनाई र गराई दुई सामानान्तर रेखा जस्तै भएका छन् । जो सँगसगै त हिड्छन् तर अनन्त सम्म कहिल्यै भेट हुँदैनन् । बिचार गर्नुहोस त, नेताले कहिले देशलाई सिंगापुर बनाउने भन्छन्, कहिले सुनको टुक्रा तर देश कवाडीको टिनको टुक्रा भएको जनताले दुःखीत बनेर हेरिरहेका छन् । ब्याक्तिवाद अनि चरम नादावाद कृपावादमा चलिरहेका दलहरु पनि आफूलाई लोकतान्त्रिक र उदारवादी भन्न कति पनि लाज मान्दैनन् । एउटा वालअधिकारवादी मञ्चमा गएर वालअधिकारको रामायण फलाक्न सक्छ तर घर वालश्रमिक मुक्त राख्न चाहदैन् । कति मलिक भनाउदाहरु आफ्ना कामदारको पैसा दिदैनन् तर देखावटी रुपमा सामाजिक सेवाका नाममा दुइचार पैसा दान गरेर आफूलाई ठूलै दानी कहलाउछन् । अनि, समाजले उसैलाई फूलमाला पहि–याउछ । महिला अधिकारवादी भनेर कुर्लनेहरु पनि मुसाले जस्तो मौसमी पत्नी भित्राउछन् नभएपनि सोमरसको सुरमा स्वास्नी भकु–छन् । सत्यवादी हरिश्चन्द्र बन्नेहरु पनि झुटको खेतीमा मलजल गर्छन् । पुरानो जमानामा डाकु रत्नाकर बाल्मीकी बनेको सुनिन्थ्यो तर अहिलेका वाल्मीकी नै रत्नाकर भन्दा कम लाग्दैनन् ।
वास्तममा कसैको चरित्र वा गुण दोष उसले अरुलाई गर्ने ब्यवहारको प्रतिविम्भ हो । सैद्घान्तिक रुपमा आफूलाई राम्रो देखाउन जतिसुकै शाब्दिक फूलबुट्टा भरेपनि त्यो नदीमा बालुवाको पुल मात्र हो । त्यसैले, परिवर्तन आफूवाटै सुरु हुनुलाई उत्तम मनिएको छ । चुरोट पिएर मुख समेत कुल्ला नगरी डाक्टरले विरामीलाई धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ, यसको सेवन नर्गनुहोला, भनेर दिएको उपदेश प्रभावकारी नहुन सक्छ । तर यसको अर्थ खराव चरित्र भएका मानिसले भनेका रामा्र कुराहरुलाई ग्रहण गर्न हुन्न भन्ने किञ्चित होइन् । प्रचलित यो पनि छ कि मुर्खहरुको उपदेश सुन्नु भन्दा बिद्घानको गाली सुन्न बेश हो । किनकी, बिद्घानले गाली गर्दे गर्दा पनि असल कुरा ओकल्न सक्छन् । राम्रो ‘म‘ भनेर सानैदेखि घोकेर होला आफूलाई नराम्रो छु भनेर मान्नै सकिन्न । ‘म‘ मा कुनै खोट नभएपछि आफ्नो आलोचना सुन्न र प्रतिस्पर्धीको अस्तित्व स्विकार्न ‘म‘ लाई धेरै गाह्रो परेको देखिन्छ । कुनैपनि विचार विशुद्घ रुपमा अगाडि बढ्न स्वास्थ्य आलोचना र प्रतिस्पर्धीको उपस्थितिलाई नकार्न मिल्दैन् । यदि त्यस्तो गरिन्छ भने त्यो मात्र निर्ङकुशता लादने प्रयास हो । अनि पानी माथि उठेको फोका जस्तो हा,े जसको आयु मिनेटसम्मका मात्र हुन्छ ।
समय बित्तै जाँदा मनिसका सोच र विचारमा परिवर्तन आउनुलाई अस्वभाविक मान्न मिल्दैन् । पुरानो कुरालाई बदलिदो परिवेशमा सुगा रटाई रटिरहने अनि परिवर्तनको नाममा विकृतिको विजारोपण गर्ने दुबै समाजका लागि उपयोगी बन्न सक्लान ? समय परिवर्तनको महत्वलाई स्वीकार नगर्ने हो भने डाइनोसार वनिने डर रहन्छ । तर, परिवर्तनको प्रवाभलाई शुद्धिकरण गर्ने दरिलो संयन्त्र नहुनाले विकृतिहरु वातावरणमा घुलेर तुरुन्तै हावामा फैलिन्छ । यसको विरुद्ध साँचो सन्देश प्रवाह गर्न लाखौ रुपैयाँ र लामो समय खर्चिनु पर्छ ।
कुनै ब्याक्ति बिशेष वा समुदायको मात्र होईन् । आम मानविय प्रवृतिहरु यसरी नै असल र खरावको बिचको द्धन्दमा दुनियाँ चलिरहेको छ । ठूूलो मान्छे बन्ने धुनमा ‘म‘ जहिले पनि असल मान्छे बन्न चुकेको देखिन्छ । सही कुराको संप्रेश्रण भन्दा पनि आफ्नो निजी स्वार्थको लागि हदै सम्मको निर्लजता प्रस्तुत गरिनु राम्रो होइन् । अनि अरुको अस्तित्व मेटाउनका लागि बिरोधमा उत्रिनु न्याय संगत छैन् । हरेक क्षेत्रमा सवैलाई वर्ग, लिङ्ग, धर्म, जातजाती तथा अन्य कुनै प्रकारको भेदभाव नराखी अगाडि बढ्न पाउनु नैशरर्गिक अधिकार हो । यहि नै सहि मानेमा समानता पनि हो ।
भनाई र गराई बिचको ठूलो खाडलले गर्दि आज मनिसहरुको विचमा अविश्वासको विकराल पहाड खडा भएको छ । एक अर्कामा अविश्वासको श्रृजना हुनु शुभ संकेत होइन् । आफैले आफूलाई नराम्रो मानेर निराशावादी बन्नुपर्छ भन्ने छैन् तर राम्रो ‘म‘ लाई सिद्ध गर्न भनाई र गराई अनि बोली र ब्यवहारको बिचमा तारतम्य मिलाउन जरुरी छ नत्र मपाईत्वको कुनै औचित्य रहदैन् ।