कुरो पाँच कक्षा पढ्दाको हो ।अझै धमिलो सम्झना बाँकी नै छ ।मेरो नैतिक शिक्षा पढाउने सरले सधैं पाठ पढाई सकेपछि अभ्यासमा रहेका प्रश्नोत्तर तिमीहरु आँफै गर्नु ।म पछि हेर्छु भन्नुहुन्थ्यो ।प्रश्नोत्तर गरे पनि नगरे पनि खासै फरक नपर्ने लागेपछि मैले त गर्दै गरेको थिइन ।
तर, सरले आठवटा पाठ पढाई सकेपछि भन्नु भयो,'भोली म तिमीहरुले लेखेको आठैवटा पाठको प्रश्नोत्तर चेक गर्छु ।भोली सबैले आ-आफ्नो कापी लिएर आउनु..... ।'भोलीपल्ट सरको कुटाइ खाने निश्चित प्राय: भए पछि मन साह्रै अशान्त भयो ।स्कूल छुट्टी भएर घर पुग्ने बितिक्कै प्रश्नोत्तर लेख्न सुरु गरे ।सधैं किताब फ्यालेर खेल्न कुद्ने अनि खाना पाक्यो? भन्दै पटक पटक भन्सामा पुग्ने केटो आज किन यसरी शान्त भएर लेख्दै छ भनेर आमा पनि तिनछक पर्नु भएको थियो ।राती अबेर सम्म र बिहान सबेरै देखि औलामा ठेला उठुन्जेल लेख्दा सातवटा पाठ सिध्याएँछु ।
स्कूलमा पुगेपछि एकजना सरको अनुपस्थितिको फाईदा उठाएर केही लेखे अनि बाँकी एक घण्टा हुने ब्रेकमा खाजा खान र खेल्न नगइ सबै सिध्याए ।बल्ल मन शान्त भयो ।अब कतिबेला सर आउनुहोला र देखाउला भनेर पर्खेर बस्न थाले ।सर आउना साथ सर मैले हजुरले भनेको सबै गृहकार्य गरेर ल्या'को छु भनेर सरतिर कापी तेर्स्याएँ ।सधैं झुटो बोल्नु हुँदैन,आज गर्ने काम भोलीलाई साँच्नु हुँदैन भनेर पढाउने सरले गाह्रो मान्दै भन्नु भयो,'आज साह्रै अल्छी लागेको छ केटा राख म भोली हेर्छु ।'सर कुर्सीमा बसेर उङ्न थाल्नु भयो ।'निरिह म मुसुक्क मुस्कुराएँ र 'झुटो बोल्यो कि पोल्यो'भन्ने पाठ पढ्न थाले ।