Tuesday, April 19, 2011

युवा बेरोजगारी र बैदेशिक रोजगार

यातायात र संचारमा आएको अकल्पनिय बिकास अनि भुमण्डलीकरणले गर्दा संसार नै सानो गाँउ जस्तो भएको मौका छोपी रोजरोटीका लागि मानिसहरु संसारको जुनसुकै कुनामा आवत जावत गर्नु अब नौलो रहेन् । प्रबिधि र भौतिक विकासले गर्दा मानिसका आवश्कता र आकांक्षामा ठूलो परिवर्तन ल्याइदिएकोले एकाइसौं शताब्दीको जिन्दगी निकै प्रतिस्पर्धी र जटिल बन्दै गइरहेको परिपेक्षमा स्वदेशमा चाहेको जस्तो रोजगारी नपाउदा मानिसको ध्यान अन्तरदेशिय रोजगारी तर्फ तानिनुलाई अस्वभाविक मान्न मिल्दैन् । ब्याक्तिगत कारणले होस वा देशको राजनैतिक, सामाजिक अनि आर्थिक जुनसुकै कारण देखाएर नेपालीहरु पनि आफुमा निहित क्षमता र दक्षताको उच्चतम प्रयोगको बिन्दु बिदेश नै बनाउदै आइरहेका छन् ।
नेपालको सन्दर्भमा हेर्दा चरम गरीवी, रोजगारीको न्युन अवसर र दशकौ लामो शसस्त्र द्धन्दको बेला ज्यान जोगाउन भएपनि आँखा चिम्लेर बिदेश हामफाल्नु पर्ने बाध्यता थियो । आज सम्म पनि राजनैतिक स्थिरता कायम हुन नसक्नु, शान्ति सुरक्षाको नाम निशान नहुनु, कुनै पनि ब्यवसाय वा रोजगार स्वतन्त्रपूर्वक गर्ने वातावरण नहुनु आदि कारणले गर्दा विदेशमा बसिरहेकाहरु स्वदेशमा स्थापित हुन हिचकिचाउछन् । र, स्वदेशमा बसिरहेकाहरु पनि विदेशमै आफ्नो सुरक्षित भविष्य देख्छन् । नेपालीहरुको हकमा यो ईच्छा भन्दा पनि बाध्यता हो भन्दा अत्युक्ति नहोला ।
देशको ठूलो युवा शक्ति विदेश पलायन हुनु कुनै पनि देशको लागि सकारात्मक लक्षण पक्कै होइन् । देश निर्माणमा जुटनु पर्ने युवा शक्ति र देशलाई आवश्यक पर्ने जनशक्ति जिविकाको लागि बिदेशी भूमिमा भुल्नु पर्ने वाध्यता कालान्तरमा घातक सिद्व नहोला भन्न सकिन्न । जसरी अहिले बैदेशिक रोजगारीलाई ब्यस्थित बनाउने भन्दै योजना बनाइन्छ जसको प्रतिफल निराशाजनक नै छ , यसको सामानन्तरमा कसरी स्वदेशमै नयाँ रोजगारी सिर्जना गरेर युवा शक्तिलाई विदेश जानु पर्ने बाध्यताबाट मुक्ती दिन सकिन्छ, यो पनि सोच्न जरुरी भैसकेको छ । स्वदेशमा भन्दा राम्रो आर्थिक उपार्जन गर्न सक्षमहरु पनि बिदेशमा दोस्रो दर्जाको नागरिक भएर बस्नुको छुट्टै पीडा सँगालेका हुनसक्छन् ।
हालको आर्थिक मन्दीले केही असर पारेपनि खाडी मुलुकमा हाम्रो उपस्थिति अदक्ष कामदारको रुपमा खुबै फस्टाएको छ । सिमित बर्गलाई छोडेर सबै तल्लो स्तरको, निम्न आय भएको जोखिमसरीको काम गर्न वाध्य छौ । त्यसमाथि बिदेश छिर्ने क्रममा दलालहरुको दरिलो संजालसँग संर्घष नै गर्नु पर्छ । हामी मध्ये कतिपयले उहि दलाल र चर्को ब्याज लिन पल्केका साहुको ऋण तिर्नमै सिमित हुनु परेको छ । स्वदेश देखि बिदेश सम्मै फैलिएका दलालहरुको काला कर्तुतहरुलाई उजागर गरेर सिफारिस समेत गर्दा पनि नेपाल सरकार सधै कानमा तेल हालेर बसेकै छ । यस्तो स्थितिमा हामीले हाम्रा गल्ती कमजोरीलाई पनि ढाकछोप गर्न मिल्दैन् । के काम गर्नु पर्ने हो, कति कमाउन सकिन्छ , काम गर्ने देशको भौगोलिक अवस्था कस्तो छ भन्ने कुरालाई चट्टक्कै भुलेर दलालका मीठा कुराहरुमा मुख मिठ्याउदै बिदेश उड्ने हाम्रो तरिका पनि केहि हदसम्म दोषी छैन् र ?
बिशेष गरेर आफू काम गर्न जान लागेको मुलुकको राजनैतिक, सामाजिक , भौगालिक र प्रचलित कानुनको सामान्य जानकारी कामदारलाई पहिले नै हुन जरुरी छ । यसका लागि एनआरएनए र अरु सामाजिक संघ÷संथाहरुले स्वदेशमा अनि बिदेशमा पनि ब्यापक प्रचार प्रसार गर्नु पर्ने देखिन्छ । कम्तिमा एउटा बिदेशमा काम गरेको ब्याक्तिको हैसियतले ब्याक्तिगत रुपमै भएपनि नवआगन्तुक तथा आउन चाहनेहरुलाई उचित परामर्स दिनु प्रत्येक प्रवासी नेपालीको कर्तब्य हो । सरकारले संचालन गरेको अभिमुखीकरण तालिम ब्यवाहारिक रुपमा उपलब्धीबिहिन बनेको छ, जसलाई ससक्त र प्रवाबकारी ढंगले परिचालन गर्न सके बैदेशिक रोजगारीको पिडामा मलम लाग्ने थियो । कामदार स्वयमले पनि काम सुरु गर्नु अघि आफूले गर्ने कामको प्रकृति अनि त्यसमा रहेको जोखिमको मुल्यांकन गरी, सुरक्षा सर्तकता लागि अपनाइएका बिधिहरुको सहि र उचित प्रयोग गरेमा कार्यशालामा हुने दुर्घटनामा यति धेरै आँसु बगाउनु पर्ने थिएन् ।
अन्य खाडी मुलुकहरु झै कतारको परिवेसलाई हेर्दा, भने अनुसारको काम नपाउनु, तोकिएको पारिश्रमिक नपाउनु, कतिपयले त लामो समयसम्म पारिश्रमिक नै नपाउनु आदि समस्याहरु ब्याप्त छ । तोकेको काम र पारिश्रमिक नपाएपछि आएको ऋण पनि दुई सालसम्म तिर्न गाह्रो हुने देखि बाध्य भएर कम्पनी छोडी अन्यत्र काम गर्न बाध्य छौ । जसलाई यहाँ गैह्र कानुनी ठहर्याइएको छ । गैह्र कानुनी काम गर्दा गर्दे पक्राउ परेर जेल जीवन बिताईरहेकाहरुको संख्या पनि उल्लेख्य छ । यस बाहेक निर्माण कम्पनीहरुमा कार्यस्थलमा सुरक्षाका उपायहरुको बेवास्ता र कतिपय स्थानमा अज्ञानताका कारण समेत मृत्यु हुनेहरुको लामो सुची छ । यहाँको ट्राफिक जानकारी नहुनु र लापरवाही साथ तेज गतिमा दौडिने सवारी साधनका कारण सडक दुर्घटनामा मृत्यु हुनेहरु पनि धेरै छन् भने हृदयघातका कारण बेलुकी ठीकठाक सुतेको मनिस बिहान उठ्नु नपर्ने गरी चिर निद्रामा परेको पनि देखिदै आएको छ ।
टोल, गाउँ, जिल्ला हुदै क्षेत्रिय, जातिय, धार्मिक अनि राजनैतिक दलका भातृ संगठन समेत गरेर कतारमा सय भन्दा बढी संघ÷संथाहरु समाज सेवाका लागि तँछाड मछाड गर्दे गोलबद्ध छन् । कतिले समाज सेवा गरेका छन् कति स्वार्थ पुर्तिमा होमिएका छन् यो छानविनको बिषय होला तर जति हामीले समाजसेवा गर्नु पर्ने हो त्यति गर्न नसकेको कुरा फिर्ति टिकटकै अभावमा लामो समय देखि जेलमा थुनिएर रहेका नेपालीहरुको संख्यालाई हेरे पुग्छ । समाजसेवाको खोल ओडी यदि कसैले आफ्नो राजनैतिक, आर्थिक वा अन्य कुनै स्वार्थ पुर्ति गर्न खोज्छ भने उसको कार्य निन्दनिय छ । सडक दुर्घटना, निर्माण कम्पनीका कार्यस्थलमा सुरक्षा सर्तकताका बिषयमा सबै संघ÷संथाहरुले जनचेतनामुलक कार्यक्रमहरु ब्यापक रुपमा परिचालन गरे केही राहात महसुस हुने थियो ।
कतारका कम्पनी ब्यबस्थापक र स्थानियबासीहरु नेपालीहरुको काम प्रति असन्तुष्ट देखिदैनन् । बस, हामीसँग कमी छ त सीप, प्रबिधि र ब्यावहारिक शिक्षाको । यदि हामीले सीप सिकेर दक्ष कामदारको रुपमा कतार प्रवेस गरेको खण्डमा यहाँको श्रम बजार हाम्रो लागि अनुपयुक्त भने होइन् । यदाकदा नेपालीहरु आफ्नो दुखःको कमाइको दुरुपयोग गरी अखाद्य पेय पदार्थ पिएर सिङ्गै नेपाली समाजलाई दुरगामी असर पार्न क्रियाकलावमा संम्लग्न भएको देख्दा साह्रै मन दुख्छ । हामी यहाँ हामी दुइचार पैसा जोहो गर्न सिमित समयका लागि आएका हौ भन्ने कुरालाई शिरोधार्य गर्नु पर्ने देखिन्छ ।
विभिन्न बहानामा बिदेश बसेका हामीहरु आफुले सिकेको ज्ञान, सीप र आर्जन गरेको धन कुनैपनि रुपमा देश निमार्णमा अलिकति भएपनि खर्च गर्न हो भने नयाँ नेपाल निमार्णमा सहायक सिद्ध हुने छ । र, यसको उचित प्रबन्ध मिलाउनु सरकारको दाहित्व हो । तत्काल बिकल्प नभएपनि बिप्रेषण भित्रिरहेको छ भनेर मख्ख नपरी देशको युवा शक्ति र उच्च जनशक्तिलाई देश भित्रै परिचालन गर्न सक्ने दिर्घकलिन रणनीति लिएर सरकार अघि बढ्नु पर्ने देखिन्छ, नत्र सगरमाथाको देश, बुद्ध जन्मेको देश भनेर चिनीने हाम्रो देश युवा बिहिन देश भनेर चिनिने दिन नआउला भन्न सकिन्न् ।

लिनु पर्ला राजनीतिबाट सन्यास ? (कविता)

खर्च गरेरै भएपनि नोट
चुनावमा हात पारेकै हो भोट
लाग्यो सल्लाह र सहमतिको चोट
लगाउनै दिएनन् दौरा र कोट
साह्रै गहिरो यो पदको प्यास
लिनु पर्ला राजनीतिबाट सन्यास ?

कति लगाउनु अरुलाई घुर्की
आफ्नै साथी आउछन पाखुरा सुर्की
फुच्चेहरु पनि जान्ने भएछन हुर्की
हिंड्नु बेकार छ, देखाएर फुर्ती
कति गर्नु उदघाटन र शिलन्यास
लिनु पर्ला राजनीतिबाट सन्यास ?

देखेर जनताको हातको डण्डा
सोच्नै पर्ला राखेर दिमाग ठण्डा
समय बित्यो गर्दैमा भाग र बण्डा
खालो सर्ने देखिन, बोकेर झण्डा
अझै कति गर्नु देशको बिनास
लिनु पर्ला राजनीतिबाट सन्यास ?

बदनाम गरेरै भएपनि नाम
मनपरी गरियो सरकारी दाम
थुप्रै भएछन्, किर्ते काम
बल्ल लाग्दैछ, घैटोमा घाम
मनग्गे भयो, मनको मिठास
लिनु पर्ला राजनीतिबाट सन्यास ?

कसैलाई गाह्रो पाउनलाई अन्न
आफूलाई पुग्यो, भयो टन्न
खै कति जोडियो सक्दिन गन्न
पर्‍या छैन, अब नेता बन्न
कुनै बेला त लाग्छ साह्रै अत्यास
लिनु पर्ला राजनीतिबाट सन्यास ?